सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले गणतन्त्र दिवस, २०६७ को अवसरमा दिनुभएको शुभकामना सन्देश
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
आज हामी मुलुकको गणतन्त्रात्मक पद्धति अपनाएको तेस्रो वार्षिकोत्सव मनाईरहेका छौं। यो ऐतिहासिक अवसरमा म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
मुलुकको एकता र अखण्डताको रक्षा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिको सन्दर्भमा जीवन बलिदान गर्नुहुने सबै ज्ञात–अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।
अपेक्षित समय सीमाभित्र संविधानसभाबाट नयाँ संविधान बन्न नसक्दा अवश्य पनि आज हामी सबैको मन खिन्न भएको छ। तथापि, विगतका कमजोरीबाट पाठ सिक्दै राष्ट्रको हितमा दृढतापूर्वक अघि बढ्नुको विकल्प छैन। शहीदहरुको सपनाको सम्मान गर्दै जनताको भावना र चाहना अनुरुपको संविधान हामीले बनाउनु नै छ। व्यक्तिगत र दलीय स्वार्थ एवं आग्रह–पूर्वाग्रहबाट माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर सोच्न थाल्यौं भने लोकतन्त्र, गणतन्त्र र संघीयताको संस्थागत सुनिश्चितताका निम्ति संविधान निर्माण गर्न हामी आफैँ सक्षम पनि छौं।
शान्ति प्रक्रिया र संविधान निर्माण कार्य एउटै सिक्काका दुई पाटा भएका र एउटाको सफलता वा असफलता अर्कोमा निर्भर गर्ने तथ्यलाई हृदयंगम गरी आगामी दिनमा यी दुवै कार्यलाई संगसँगै अघि बढाउनु पर्ने खाँचो अझ टड्कारो भएको छ। राष्ट्र र राष्ट्रियताकेा लागि हामी सबै नेपाली एकजुट भई अगाडि बढौं, मेरो यही कामना छ।
सबै नेपालीको जय होस्।
धन्यवाद।
मिति : २०६७ जेष्ठ १५ गते शनिवार |