Press Releases In 2009    

 

  Press Release 01- 2066 - Press Release 02-2066

 


मिति : २०६६।७।१३

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर, लामाटार, वडा नं. ८ निवासी श्री मधुवन प्रसाद पौडेललाई कुवेतका लागि र ललितपुर, ललितपुर उपमहानगरपालिका, वडा नं. १६ निवासी श्री सुशीलचन्द्र अमात्यलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपाली राजदूत पदमा नियुक्ति गर्नुभएकोले यो सूचना प्रकाशन गरिएको छ।


मिति : २०६६।७।११

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री रुक्म शम्शेर ज.व.रा.लाई गणतन्त्र भारतका लागि नेपाली राजदूत पदमा नियुक्ति गर्नुभएकोले यो सूचना प्रकाशन गरिएको छ।


मिति : २०६६।७।११

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो। भेटका अवसरमा समसामयिक विषयमा छलफल भएको थियो।


मिति : २०६६।७।१०

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग आज भारतका माननीय वाणिज्य मन्त्री आनन्द शर्माले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो।


मिति : २०६६।६।३०

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बाहुनडाँगी, झापा निवासी डा. भोजराज घिमिरेलाई क्यानाडाका लागि र काठमाडौं निवासी श्री प्रद्युम्नविक्रम शाहलाई ब्राजिलका लागि राजदूत पदमा नियुक्ति गर्नुभएकोले यो सूचना प्रकाशन गरिएको छ।


मिति : २०६६।६।२६ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले नवनियुक्त उपप्रधानमन्त्री माननीय सुजाता कोइरालालाई उपप्रधामन्त्री पदको पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो।


मिति : २०६६।६।२५

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा र श्री ज्ञानचन्द्र आचार्यलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्ति गर्नुभएकोले यो सूचना प्रकाशित गरिएको छ।


मितिः २०६६/०६/२१


सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले सुदूर पश्चिमाञ्चल क्षेत्रका कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम, बझाङ्ग जिल्ला लगायत नेपालका विभिन्न स्थानमा हालै आएको अविरल वर्षाको कारणले बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा जनधनको क्षति हुन गएकोमा आफू अत्यन्त मर्माहत भएको कुरा व्यक्त गर्नु भएको छ।
वर्षाको कारणले प्राकृतिक प्रकोपमा परी मृत्यु भएकाहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ।
साथै सम्माननीय राष्ट्रपतिज्यूबाट यस प्रकारको प्राकृतिक विपत्तिबाट विस्थापित हुन गएकाहरुलाई उद्धार, उचित रेखदेख र तात्कालिक राहतका लागि उचित व्यवस्था हुने कुरामा विश्वास व्यक्त गर्दै सम्बन्धित सबैले संयमतापूर्वक यस्तो विपत्तिको सामना गर्न समेत आग्रह गर्नु भएको छ।त गर्नु भएको छ।


मितिः २०६६।०६।०४


सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संयुक्त राष्ट्रसंघ महासभाको ६४ औं नियमित अधिवेशनमा भाग लिन न्यूयोर्कको औपचारिक भ्रमणको सिलसिलामा सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपाल यही २०६६ साल असोज ४ गते आइतवार त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान २०६३ बमोजिम माननीय उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोक्नुभएको छ


मितिः २०६६।५।२४


सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज राष्ट्रपति भवनमा आयोजित एक समारोह वीच नवनियुक्त प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।


मितिः २०६६।५।२३


सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय शिक्षा दिवस, २०६६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा नेपाल विद्याभूषण “क” ११७ जनालाई, नेपाल विद्याभूषण “ख” ६१ जनालाई, नेपाल विद्याभूषण “ग” १३ जना महानुभावहरुलाई तथा नेपाल छात्रा विद्यापदक स्नातक तहको २६ जना छात्रालाई र नेपाल छात्रा विद्यापदक प्रमाणपत्र तहका १५ जना छात्रालाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो। सो कार्यक्रममा सम्माननीय प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, सम्माननीय अध्यक्ष सुभाषचन्द्र नेम्वाङ्ग, माननीय मन्त्रीज्यूहरु, संवैधानिक अंगका प्रमुखहरु लगायत शिक्षाविदहरुको समेत समुपस्थिति रहेको थियो ।

मितिः २०६६।०५।१९

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट आयोगका कार्यवाहक प्रमुख आयुक्त श्री ललित बहादुर लिम्बुबाट आज राष्ट्रपति भवन, शीतल निवासमा एक समारोहका बीच नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०६५।०६५ प्रस्तुत गर्नु भयो ।

 

मितिः २०६६।०५।१७

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालबाट नवनियुक्त विनाविभागीय मन्त्री माननीय लक्ष्मणलाल कर्ण र माननीय महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सर्वदेवप्रसाद ओझालाई आज राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

मितिः २०६६।०५।०२

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मित्रराष्ट्र गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा आज २०६६ भाद्र २ गते मंगलवार त्यसतर्फ प्रस्थान गर्नु भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री श्री विजयकुमार गच्छदारले सम्हाल्ने गरि तोक्नुभएको छ।

मिति : २०६६।०४।१

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालबाट नवनियुक्त वातावरण मन्त्री माननीय ठाकुर प्रसाद शर्मालाई मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनु भयो ।


मिति : २०६६।०४।११

  • सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको वी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, महाराजगंन्जमा आज दुवै आँखाको विशेष परिक्षण सम्पन्न भयो। उक्त विशेष परिक्षणमा केन्द्रका प्रमुख प्रा.डा. देवनारायण शाह सहित भारतबाट आउनु भएका आँखा विशेषज्ञद्वय प्रा.डा. राजवर्धन आजाद (अल इन्डिया मेडिकल इन्ष्टिच्यूट, नँया दिल्ली) र प्रा.डा. आमोद गुप्ता (चण्डिगढ) संलग्न हुनुहुन्थ्यो।
  • सम्माननीय राष्ट्रपति डा. रामवरण यादवका दुवै आँखा स्वस्थ्य रहेका र मातीविन्दुको शल्यक्रिया पछि पैदा भएको बेला बेलामा स–साना धब्बा देखिने समस्या क्रमशः घट्दै जाने राय विशेषज्ञ चिकित्सकहरुले दिएका छन्। सं. राष्ट्रपतिका आँखाको मोतिविन्दुको शल्यक्रिया २०६५ मंसिर २९ गते र पुस ६ गते सोही नेत्र अध्ययन केन्द्रमा गरिएको थियो।
  • आफ्नो आँखाको उपचारमा संलग्न स्वदेशी तथा विदेशी चिकित्सकहरुलाई सम्माननीय राष्ट्रपतिले धन्यवाद दिनु भएको छ।



मितिः २०६६।०४।०६

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव सँग सम्माननीय उपराष्ट्रपति परमानन्द झाले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो।

मितिः २०६६।०४।०६

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भयो। भेटको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट इजिप्टको Sharm El Sheikh शहरमा सम्पन्न असंलग्न आन्दोलनको १५औं शिखर सम्मेलनको विषय र त्यहाँ नेपालको सहभागिताको बारेमा विस्तृत रुपमा जानकारी गराउनु भयो। साथै सम्माननीय प्रधानमन्त्रीले मध्य पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लामा फैलिएको झाडापखाला नियन्त्रणका लागि भैरहेको प्रयास र आफूले सो क्षेत्रको भ्रमणका क्रममा देखेका र निर्देशित गरेका विषयका सम्बन्धमा समेत सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अवगत गराउनु भयो।

 

 

 

Press Release

मिति : २०६७ जेष्ठ १६ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४, विशालनगर निवासी श्री मोहनकृष्ण श्रेष्ठलाई गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूत पदमा नियुक्ति गर्नुभएकोे छ।

मितिः २०६७ जेष्ठ १४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूलाई सम्माननीय प्रधानमन्त्रीज्यूले मुलुकको अहिलेको राजनैतिक परिस्थितिका बारेमा अवगत गराउनु भएको थियो।

मितिः २०६७ जेष्ठ १३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यावदज्यूले आज विहान एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष माननीय श्री पुष्प कमल दाहाल “प्रचण्ड”, नेपाली काँग्रेसका कार्यवाहक सभापति श्री सुशील कोइराला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष माननीय श्री झलनाथ खनाललाई राष्ट्रपति भवन, शीतल निवासमा आमन्त्रण गरी देशको पछिल्लो राजनीतिक वस्तुस्थितिका बारेमा छलफल गर्नु भयो। सम्माननीय राष्ट्रपति र नेतात्रय बीच विहान ७ः३० देखि करिब डेढ घन्टा विचार विमर्श भएको थियो।
त्यस अवसरमा सम्माननीय राष्ट्रपति डा. यादवले दलहरु बीचको आपसी मतभेदका कारण देशमा बढ्दै गएको राजनीतिक अन्योलप्रति चिन्ता प्रकट गर्दै नेताहरुलाई राष्ट्रिय स्वाभिमान र सम्पूर्ण नेपालीको हितलाई ध्यानमा राखी सहमति कायम गरेर अघि बढ्न आग्रह गर्नु भयो। सम्माननीय राष्ट्रपतिले संविधानसभा आफैमा साध्य नभएर जनताको भावना अनुरुपको लोकतान्त्रिक संविधान निर्माण गर्ने आधारभूत साधन भएको तथ्य स्मरण गराउँदै नयाँ संविधान बनाउने कार्य अधूरो रहेकै अवस्थामा जनताद्वारा निर्वाचित संविधानसभाको भविष्यलाई लिएर उत्पन्न अन्योल दुर्भाग्यपूर्ण भएको विचार राख्नु भयो। सम्माननीय राष्ट्रपतिले जनआन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र संघीयतालाई संस्थागत गर्नु नै अहिलेको प्रमुख दायित्व भएको तर नयाँ संविधान निर्माण नहुँदा सम्म ती कुराहरुलाई संस्थागत र सुदृढ तुल्याउन सम्भव नहुने कुरा पनि स्पष्ट पार्नुभयो। संविधानसभा बाहेक संविधान निर्माण गर्ने अन्य उपायहरु नभएकोले नयाँ संविधान नलेखिँदा सम्म संविधानसभाको क्रियाशिलता सुनिश्चित गर्न वहाँले आफू र आम नेपाली जनताका तर्फबाट नेतात्रयलाई अनुरोध गर्नु भयो।

मितिः २०६७ जेष्ठ १२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग नेपाल भ्रमणमा रहेको यूरोपियन यूनियन पार्लियामेण्टको दक्षिण एशिया सम्बन्ध विभागका अध्यक्ष श्री जिन लाम्बर्टज्यूले नेतृत्व गर्नुभएको १० सदस्यीय एक प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्‍यो। उक्त भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र सहयोग तथा आपसी हितका विषयहरुमा छलफल भयो।
प्रतिनिधिमण्डलका अध्यक्ष श्री लाम्बर्टज्यूले यूरोपियन यूनियनले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया सफलतापूर्वक पूरा भएको हेर्न चाहेको र नेपालको आर्थिक तथा सामाजिक विकासमा सहभागी समेत हुन चाहेको कुरा बताउनु भयो।
सम्माननीय राष्ट्रपतिज्यूले नेपालको शान्ति प्रक्रिया र आर्थिक तथा सामाजिक विकासमा यूरोपियन यूनियनले गरिरहेको सहयोगको लागि धन्यवाद दिनुहुँदै आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता तथा वृद्धिको लागि अनुरोध गर्नुभयो। साथै, सबै राजनीतिक दलहरुको सहमति र सहकार्यमा अन्तरिम संविधान र वृहत शान्ति सम्झौताको परिपालना गर्दै शान्ति प्रक्रिया र संविधान निर्माण कार्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो।

मितिः २०६७ जेष्ठ ११ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग सम्माननीय प्रधानमन्त्री श्री माधव कुमार नेपालज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।

भेटका अवसरमा वहाँहरु बीच समसामयिक विषयमा छलफल भएको थियो ।

मितिः २०६७ जेष्ठ १० गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग संविधानसभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्बाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष सम्माननीय अध्यक्षज्यूले संविधानसभाको म्याद थपबारे हालसम्म भएका प्रयास र तत्सम्बन्धी प्रक्रियाबारे जानकारी गराउनु भयो। त्यसका साथै वहाँले शान्ति प्रक्रिया र संविधान निर्माणको लागि वार्ता र सहमति आवश्यक भएको कुरा सबै राजनैतिक दलहरुले महसुस गरी सहमतिको प्रयास अझ घनीभूत बनाउँदै जाने कुरा बुझेको तथ्य समेत सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भयो। सम्माननीय अध्यक्षज्यूले समय अति छोटो भएकोले संविधान सभाको अवधि बाँकी छदैँ सहमति कायम गरेर संविधान सभाको म्याद थप गर्नेतर्फ लाग्न सबै राजनैतिक दलहरुलाई आह्वान गरेको कुरा समेत बताउनुु भयो।

मितिः २०६७ जेष्ठ ६ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग सम्माननीय प्रधानमन्त्री श्री माधव कुमार नेपालज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।

भेटका अवसरमा वहाँहरु बीच समसामयिक विषयमा छलफल भएको थियो ।

 

Messages
मितिः २०६७ जेष्ठ १५ गते
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले गणतन्त्र दिवस, २०६७ को अवसरमा दिनुभएको शुभकामना सन्देश
मिति २०६७ जेष्ठ १३ गते
सम्माननीय राष्ट्रपतिज्यू डा. रामवरण यादवज्यूबाट २५५४ औं बुद्ध जयन्तीको अवसरमा दिनु भएको शुभकामना सन्देश
मिति २०६७ जेष्ठ १३ गते
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट उँभौली पर्वको अवसरमा दिनु भएको शुभकामना सन्दे
News and Events
मितिः२०६६।०५।३१

सम्माननीय राष्ट्रपतिले आज अन्तर्राष्ट्रिय सामुदायिक वन कार्यशाला,
पोखराको ग्रान्ड होटलमा समुदघाटन गर्नुभयो । सम्मेलनमा ३२ देशका
सहभागीहरू उपस्थित रहेका थिए ।