सम्माननीय राष्ट्रपतिज्यू डा. रामवरण यादवज्यूबाट २५५४ औं बुद्ध जयन्तीको अवसरमा दिनु भएको शुभकामना सन्देश
अहिंसाको प्रतिक तथा शान्तिका नायक महामानव गौतम बुद्धको २५५४औं जन्मजयन्तीको उपल73यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्ध धर्माबलम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आज वैशाख पूर्णिमाको दिन, बुद्धको जन्म, बोधीज्ञानलाभ तथा महापरिनिर्वाण हुनु भएको त्रिसंयोगको दिन हो, त्यसैले आजको यस महत्वपूर्ण दिनलाई म विशेष स्मरण गर्न चाहन्छु।
राग, द्वेष र बढ्दो निरपेक्ष भौतिकवादका कारण विभिन्न खालका हिंसा र अशान्तिबाट गुजि्ररहेको आजको विश्व परिस्थितिमा बुद्धले उद्बोध गर्नुभएका सिद्धान्त र सत्य–ज्ञानको महत्व अझ बढी सान्दर्भिक भएको मैले ठानेको छु।
आज मुलुक असहज राजनैतिक परिस्थितिबाट गुजि्ररहेको छ। हाम्रो चाहना र आवश्यकता अनुरुप देशमा शान्ति सुव्यवस्था, अमनचैन कायम हुन सकेको छैन। हाम्रो लागि अहिले एकआपसमा मेल मिलाप, सहमती, समझदारी र सहकार्यको खाँचो छ। त्यसैले आज हामीहरुले भगवान बुद्धका सन्देशहरुलाई जीवन पद्धती र आचरणमा सही ढंगले उतारेर एकआपसमा मैत्री करुणाको भावना फैलाई समृद्ध र समुन्नत राष्ट्र निर्माणमा जुट्नु पर्ने खाँचो हामी समक्ष छ।
अन्त्यमा, आजको यस पवित्र दिनले सम्पूर्ण भाषा–भाषी, जात–जाति, वर्ग, क्षेत्र र धार्मिक समुदायका बीच सद्भाव र भातृत्व अभिवृद्धि भई देशमा शान्ति स्थापना कार्यमा समेत थप योगदान पुग्नेछ भन्ने विश्वास गर्दछु।
धन्यवाद।
मितिः २०६७ जेष्ठ १३ गते, विहीबार
|