सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट विजया दशमी २०६६ को पावन अवसरमा दिनु भएको शुभकामना सन्देश
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले विजयादशमी २०६६ का अवसरमा दिनु भएको शुभ–कामना सन्देश
आदरणीय दिदी बहिनी तथा दाजु भाईहरु!
नेपालीहरुको महान पर्व विजयादशमी, २०६६ को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–वहिनी तथा दाजु भाईहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु।
असत्यमाथि सत्यको विजयोत्सवको रुपमा परापूर्वकालदेखि सनातन हिन्दू धर्म र संस्कृतिका अनुयायीहरुले मनाउदै आएको दशैं पर्वको मूल मर्म आपसी सद्भाव, मेल–मिलाप र सहयोगको अभिवृद्धि नै हो। यस्ता चाडपर्वहरुले हाम्रो धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रिय पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पुर्याएका छन्। हरेक जात–जाति र धर्मावलम्बीहरुका विशिष्ट परम्पराहरु नै हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन्। नयाँ बन्ने संविधानमा राष्ट्रिय स्वाधीनता र अखण्डताको सुदृढीकरणसंगै हिमाल, पहाड र तराई–मधेशका सबै धर्म, चाड पर्व तथा परम्पराहरुलाई जीवन्त राख्न आवश्यक व्यवस्था हुने छ भन्ने विश्वास लिएको छु।
शान्ति प्रक्रियाको पूर्णता र नयाँ संविधानको निर्माण नहुदासम्म देशले संक्रमणकालिन अवस्थाबाट मुक्ति पाउन सक्दैन। यसर्थ राजनीतिक दलहरु समेत हामी सबैले अन्तरिम संविधानको अक्षरसः पालना गर्दै शान्ति स्थापना र नयाँ संविधान निर्माणलाई आफ्नो मूल लक्ष बनाउनु आजको खाँचो भएको छ। यसनिम्ति राजनीतिक शक्तिहरुले आपसी वैमनस्य र अविश्वासको सट्टा सौहार्द्रता, सहकार्य र समझदारीको संस्कारलाई कम्तिमा पनि उपर्युक्त लक्षप्राप्त नहुँदासम्म आत्मसात गर्ने छन् भन्ने विश्वास गरेको छु।
इतिहासका महत्वपूर्ण उपलब्धी र असल पक्षहरुको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको दिशामा अघि बढ्न सकौं, दुर्गा भवानीले हामी समस्त नेपालीहरुलाई यहि शुभाशिष दिँउन्।
धन्यवाद,
सबै नेपालीको जय होस्।
२०६६ असोज, १२ गते
सम्माननीय राष्ट्रपतिले आज अन्तर्राष्ट्रिय सामुदायिक वन कार्यशाला,
पोखराको ग्रान्ड होटलमा समुदघाटन गर्नुभयो । सम्मेलनमा ३२ देशका
सहभागीहरू उपस्थित रहेका थिए ।