विश्व हात धुने दिवसको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवसको शुभकामना सन्देश

आज ‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ ।

साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुहरूद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । हाल विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा रहेको कोरोना भाइरसलाई निस्क्रिय बनाई यसको सङ्क्रमणमा कमी ल्याउने तीन महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक हो ।

हामीले जोखिमपूर्ण अवस्थाहरू जस्तै चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहोर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्दछ ।

कोभिड-१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्दछ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य छ ।  यस सन्दर्भमा आश्विन १३ देखि कात्तिक १४ गतेसम्मको एक महिना तीनै तहका सरकार र सरोकारवालाहरूको साझेदारीमा हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधै साथसाथ भन्ने संकल्पका साथ देशभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ ।

कोभिड-१९ बाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि हातको स्वच्छता सम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ ।  घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सो सम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छता सम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु  ।

२०७७ असोज २९ गते बिहीबार ।