नेपाली जनताले पहिलोपटक निर्बाचित संविधान सभा मार्फत् ‘नेपालको संविधान २०७२’ प्राप्त गरेका छन् । यो ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई अब देशको भाग्य र भविष्य आफैं निर्धारण गर्ने अभिभारा सुम्पेको छ। संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । तसर्थ, मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकार संविधानबाट नै सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा अबको हाम्रो उदेश्य आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवर्द्धन गर्दै सिङ्गो मुलुकको दिगो र समाबेशी समृद्धि तर्फ केन्द्रित हुनु पर्दछ। देशले हासिल गरेको राजनीतिक स्थायित्वको लागि र जनताको जीवनस्तर माथि उठाउन अब सबैले देशको द्रुततर सामाजिक र समाबेशी आर्थिक रुपान्तरणमा परिचालित हुनै पर्छ। तब मात्रै नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना हुन सक्छ र यसले सुनिश्चित गरेको लोकतान्त्रिक गणतन्त्रको जग मजबुत बन्दै जान्छ।

संबिधानले प्रत्याभूत गरेका नागरिकका मौलिक अधिकार र आधारभूत आवश्यकताको सम्मान गर्न, संविधानको मर्मको पालना गर्न र देशको समृद्धि, एकता र शान्तिलाइ जोगाइराख्न मन, वचन र कर्मले लाग्नु देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीको परम कर्तब्य हो।

Save