सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचितहुने पहिलो राष्ट्रपति हुनुहुन्छ । उहाँ मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँ विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते, इस्वी सम्बत् २०१५ अक्टोबर २८ मा नेपालको व्यवस्थापिका–संसदबाट राष्ट्र प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँ राष्ट्र प्रमुखतथा सरकार प्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वका अन्य पच्चीस महिलापछि छब्बीसौँ महिला हुनुहुन्छ ।

सम्माननीय राष्ट्रपतिको जन्म वि.सं. २०१८ असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभन्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह–अवरोहहरू पार गर्दै राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल उहाँको जीवन सबैका लागि प्रेरणादायी र उर्जापूर्ण छ ।

राष्ट्रपतिले आफ्नो विद्यालय र महाविद्यालयको शिक्षा क्रमशः भोजपुर र मोरङ्गमा आर्जन गर्नुभयो । भोजपुर क्याम्पसमा अध्ययनरत रहँदाको समय उहाँको जीवनयात्राका महत्वपूर्ण मोडका रूपमा स्थापितभए । त्यस क्रममा उहाँले नेपाली समाजको दयनीय अवस्थाका मूलभूत कारणहरूलाई बुझ्ने अवसर पाउनुभयो र लोकतन्त्रबिना मुलुकको अग्रगति संभव छैन भन्ने निष्कर्षमा पुग्नुभयो । वामपन्थी–लोकतान्त्रिक गतिविधिहरूमा सहभागी हुने क्रममा उहाँको राजनीतिक दृष्टिकोण उन्नत बन्न पुग्यो । आम विद्यार्थीहरूका हकहितका बिषयहरूका अतिरिक्त उहाँ निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । त्यस सहभागितासँगै उहाँको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो ।

त्यस क्रममा उहाँ विद्यार्थीको हकहितको लागि समर्पित एक उदीयमान नेताका रूपमा स्थापितहुँदै आठ बर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र– सङ्गठनको नेतृत्वमा रहनु भयो । यसै अवधिमा उहाँ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्यधिक मतसहित कोषाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उहाँ नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित हुनुभएको थियो । वि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथलिगको कार्यकर्ताको रूपमा उहाँको सङ्गठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उहाँले उक्त पार्टीको सदस्यता प्राप्त गर्नुभयो । यस संगसंगै उहाँ वि.सं.२०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला सङ्घको सदस्य बन्नुभयो । महिला सङ्घमा आवद्ध भएदेखि नै उहाँले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्ध निरन्तर आवाज उठाइरहनु भयो र महिला समानता र अधिकारको प्राप्तिको लागि निरन्तर संघर्षरत रहनुभयो । यसरी उहाँको राजनीतिक जीवन विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति सङ्घर्षरत पार्टीको प्रतिवद्ध कार्यकर्ताका रूपमा तीनवटा आयाममा संगसंगै अगाडि बढ्यो ।

वि.सं. २०३९ सालमा उहाँको शुभविवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुखद निधन भएसंगै उहाँको दाम्पत्य जीवन एघार बर्षको छोटो समयमै समाप्तभयो । पतिको दुखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन–पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उहाँले लिनुभयो ।

वि.सं. २०५४ को माघमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), नेकपा(एमाले) को छैटौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यसयता लगातार उहाँले पार्टीको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उहाँ २०६५ सालमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण २०७१ सालमा आयोजित नवौं राष्ट्रिय महाधिवेशनमा उहाँ पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित हुनुभयो ।

संसदीय निर्वाचनमा पनि उहाँको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । संसदीय निर्वाचनमा उहाँको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरीएको वि. सं. २०५० सालको उपनिर्वाचनसंगै शुरु भयो । सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं.– १ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित हुनुभयो । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन गरी उहाँ काठमाडौंका बिभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो ।

महिला अधिकारका लागि निरन्तर सङ्घर्षरत उहाँ वि.सं. २०५५ सालमा अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसयता लगातार तीन पटकसम्म उक्त सङ्गठनको अध्यक्ष निर्वाचित उहाँले लैङ्गिक समानताका लागि अथक प्रयत्न गरिरहनुभयो । संसद सदस्यका हैसियतले संसदभित्र महिला हकअधिकार र समानताकालागि उहाँले लड्नु भएको लडाइँ सबैका लागि स्मरणीय रहेको छ ।  लैङ्गिक समानता, समान ज्याला, महिलाशिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि उहाँले संसद र सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्नुभएको छ ।

२०६२— ६३ को आन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विशेष प्रस्तावको प्रस्तावक उहाँ नै हुनुहुन्थ्यो र संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढङ्गले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो । सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उहाँको अहम् भूमिका रहेको थियो । २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको न्यूनतम ३३ प्रतिशत सुनिश्चित गरेको छ । यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक–कानूनी उपलव्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको हो । नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ ।

वि.सं. २०५४ सालमा वातावरण तथा जनसङ्ख्या मन्त्रीका रूपमा उहाँले पहिलो कार्यकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले वि.सं. २०६६ सालमा रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । निकै चुनौतीपूर्ण र संवेदनशील रक्षामन्त्रालयको पदभार सम्हाल्ने उहाँ नेपालकै पहिलो महिला हुनुहुन्छ । रक्षामन्त्रीका हैसियतले त्यस अवधिमा उहाँले नेपाली सेनामा पूर्व माओवादी–लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षानीतिको तर्जुमागर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गर्नुभयो । संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पुर्‍याउने महत्वपूर्ण वार्तामा सक्रीय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु हुने विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा (एमाले) का उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घका अध्यक्ष र व्यवस्थापिका–संसद सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।